Saturday, September 29, 2018

"मासुहरुको मेला"

यो मेला कस्तो मेला
मासुहरुको !
जिउँदा मासुहरू बिक्रीमा
सजिएर बेचिंदै
झिलिमिली देखिन्छन् ति
नांगा प्याकेटहरुमा
आनन्द खोज्नेहरुको भिड
आनन्द बिक्ने बजार यो
यो मेला कस्तो मेला
मासुहरुको !
कोहि किन्नलाई आतुर
कोहि बेच्नलाई मजबुर
थरि थरिका मासुहरुको पसल
खाने गिजापनी नभएकाहरु
अनि खाने दाह्रा भएकाहरु
भोका सबै यहाँ
सुँघ्दै ओकल्दै छन् कोहि
देखिदैनन् शाकाहारी
यो मासुहरुको मेलामा
न काट्नुपर्ने
न त पकाउन नै
काँचै चपाईन्छन् निलिन्छन्
खाने रमाउँछन्
खुलाउने कमाउँछन्
रगत सुकेर पनि रशिला
मुखौता हँसिला ति
हा ! हा ! हा !
छिया परेका अचानाहरुमा
घसेर तेल चिल्ला
हड्डीहरु नचपाईनै गल्छन्
निभेकाहरु पनि बल्छन्
यो मासुहरुको मेलामा
सस्ता महंगा मासुहरू
बिक्ने रमाउंदै
झुम्दै गरेका मासुहरू
गाइजात्रे मेलामा
रमाउंदै गोरुहरु
काला बादल घसेर
घनघोर बर्सिन तयार
मिर्मिरेको लालिमा त्यसमाथि
अन्धकारमा डुब्न तयार
यो मेला कस्तो मेला
मासुहरुको !

No comments:

Post a Comment