Monday, August 6, 2012

"डगमगाएका पाइलाहरु"

चिन्दैनन् आफैलाई
ऐनामा पराइ देख्छन्
लुकी आफैसंग  कति
भाग्छन् आफैबाट  टाढा
एकान्तमा रुमलिने
भिडमा झस्कि सदा
बाटो नै बिराए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु 

चुपचाप छ, निशब्द !
टोलाई भित्ता कोर्छ
अबोल शब्द सारा
मनको चित्र बुन्छ
शुन्यता कोलाहल सरि
गुन्जिंछ मानशपटलमा
तर्सिएर लाटो भए सरि
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु

डर आफैसंग
भय यो कस्तो
विषालु सोच लाग्छ
आफैलाई डस्ला कि
हृदयलाई थुनेर
भाग्दै र बच्दै
दिशाभ्रममा विलाए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु

भट्भटी पोल्छ
न हाँस्छ न बोल्छ
रसाउँदैनन् आँखा
भावहरु जलेर
दन्दनी बल्छ
खरानी बन्छ
डढेर सेलाए झैं
डगमगाएका पाइलाहरु
       गन्तब्य नै हराए झैं
       डगमगाएका पाइलाहरु